२ फागुन, बागलुङ। लोकप्रिय सङ्गीतकार आशिष अविरलले परिवारमा अकल्पनीय वियोगको सामना गर्नुपरेको छ । उहाँले बुबा बितेको सातादिन नबित्दै आमालाई पनि गुमाउनुभएको छ ।

गलकोट नगरपालिका–७ मल्म निवासी ८१ वर्षीय बुबा बलहादुर दिवङ्गत हुनुभएपछि किरियामै रहेका बेला अविरललाई मातृशोक परेको हो ।

उहाँकी आमा चित्रकुमारीको ७९ वर्षको उमेरमा आज बिहान निधन भएको हो । श्रीमान् बितेको दुई दिनमै मष्तिष्कघात भएपछि चित्रकुमारीलाई उपचारका लागि पोखरा पु¥याइएको थियो ।

औषधोपचारले निको नभएर स्वास्थ्य जटिल बनेपछि उहाँलाई आइतबार घर ल्याइएको थियो । अविरलका भाइ कर्णले बुबाआमा दुवैमा उच्च रक्तचापको समस्या देखिएको र त्यसले मष्तिष्कघात निम्ताएको बताउनुभयो । “बुबाकोझैँ समस्याले आमा पनि बित्नुभयो, बचाउन सकिएन”, उहाँले भन्नुभयो ।

बलबहादुरको गत मङ्गलबार निधन भएको थियो । दुवैको एकैबेला भएको निधनले परिवारजन र छरछिमेकी शोकमा छन् । दिवङ्गत चित्रकुमारीको आजै स्थानीय गौँदी घाटमा अन्त्येष्टि गरिएको छ । उहाँका दुई छोरा, तीन छोरी र नातिनातिना छन् ।