३ फागुन,काठमाडौँ । नेपाल विद्यालय खेलकुद महासङ्घसँग प्रिमियर इन्टरनेशनल आइबी वल्र्ड विद्यालयले शैक्षिक गतिविधि र खेलकुद प्रतियोगिताका लागि सहकार्य गर्र्ने भएको छ ।
इन्टरनेशनल स्कुल स्पोर्टस् फेडेरेशन (आइएसएफ)को समन्वयमा विभिन्न उमेर समूहबीच च्याम्पिसनसीप प्रतियोगिता तथा शैक्षिक गतिविधि सञ्चालन गर्न ती दुई संस्थाबीच सहकार्य हुन लागेको हो ।
‘एक राष्ट्र एक सदस्य’ नीतिअनुरूप महासङ्घले आफ्नो नीति र निर्देशानुसार योग्यता पुगेका विद्यालयलाई सदस्यता प्रदान गर्दै आएको महासचिव राजकुमार कार्कीले जानकारी दिनुभयो ।
विश्वका १३१ देश सदस्य रहेको आइएसएफ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको महासङ्घ सदस्य संस्था हो ।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाको उपस्थितिमा भएको साझेदारी र सहकार्यको औपचारिक घोषणा कार्यक्रममा आइएसएफका अध्यक्ष लरेन्ट पेट्रिङकाले १९औँ आइएस जिन्मासाइड स्कुल समर गेम्स सन् २०२२ लाई गरिमामय तुल्याउन सदस्य विद्यालयको क्रियाशीलता र सहभागिता महत्वपूर्ण हुने बताउनुभयो । उक्त प्रतियोगिता १४ देखि २२ मेसम्म फ्रान्समा हुँदैछ ।