३ फागुन, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मी शाहले आज नगरस्तरीय मानव अधिकार एकल महिला सञ्जाललाई ६० थान कम्बल सहयोग गर्नुभएको छ । नगरपालिकाबाट पाइने पारिश्रमिक (भत्ता) बापतको रकम खर्चेर शाहले महिला सञ्जाललाई कम्बल सहयोग उपलब्ध गराउनुभएको हो ।

“सञ्जालमा आबद्ध आर्थिक रुपमा विपन्न एकल महिलालाई चिसोको बेला न्यानो कपडाको अभाव नहोस् भन्ने उद्देश्यले कम्बल उपलब्ध गराएका छौँ,” उहाँले भन्नुभयो, “कार्यपालिकाबाट उपलब्ध हुने पारिश्रमिक (भत्ता) को रकम जम्मा गरी कम्बल खरिद गरी हस्तान्तरण गरेका छौँ ।”

रु ६० हजार मूल्य बराबरको कम्बल खरिद गरिएको उहाँले बताउनुभयो । खरिद गरिएको कम्बल सञ्जालका अध्यक्ष शान्ता धामीलाई नगरप्रमुख दिलबहादुर ऐर र कार्यपालिका सदस्य शाहले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको छ । 

कार्यपालिका सदस्य शाहले सञ्जालको संस्थागत विकासका लागि रु पाँच हजार पाँच नगद रकमसमेत हस्तान्तरण गर्नुभएको छ । कार्यपालिका सदस्य शाहले गत वर्षसमेत पारिश्रमिक खर्चेर विपन्न ५० ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गर्नुभएको थियो ।