४ फागुन, तनहुँ । व्यास नगरपालिका–५ चुदेरका दुवै मिर्गाैलाबाट पीडित ४४ वर्षीय थमनबहादुर थापाको उपचारार्थ करिब डेढ लाख आर्थिक सहयोग गरिएको छ । चुदेर घर भई हाल बुटवलमा बस्दै आएका देवबहादुर थापाले सो रकम सङ्कलन गरी हस्तान्तरण गर्नुभएको हो । उहाँले थमनबहादुरको उपचारार्थ रु १३ लाख खर्च लाग्ने, हप्तामा दुईपटक डायालासिस गर्नुपर्ने र एक पटकमा रु साढे सात हजार खर्च हुने बताउनुभयो ।

यसैबीच व्यास नगरपालिका–५ साँगे सेरा निवासी बाबुलाल कुमालले छ महिनादेखि मिर्गौलापीडित थापालाई निःशुल्क यातायात सेवा प्रदान गर्दै आएका छन् । उहाँको डायलासिसका लागि उहाँले दमौली अस्पताल लैजाने र ल्याउने गर्दै आएका हुन् ।

“राति, बिहान, दिउँसो जुनसुकै समयमा पनि थापाको उपचारका लागि अस्पताल पु¥याउन यातायात सेवा प्रदान गर्दै आएको छु, ‘ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बिरामीको सेवा गर्न पाउनु ठूलो सौभाग्य ठानेको छु”, उहाँले भन्नुभयो ।