४ फागुन, सिद्धार्थनगर । हरेक किसिमको क्यान्सर रोेगको उपचार नेपालमै सम्भव भएको हुँदा त्यसको पहिचान, पहिचानपछि उपचारको सुरुआतमा ढिलाइ गर्न नहुने क्यान्सर रोग विशषज्ञले सुझाव दिनुभएको छ ।

लायन्स क्लब अफ भैरहवा ग्रीनसिटी र नेपाल बालकल्याण संस्थाको आयोजना तथा नेपाल क्यान्सर सहयोग समूहको प्राविधिक सहयोगमा अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा भैरहवामा आज आयोजित सचेतना कार्यक्रममा विज्ञहरुले उक्त सुझाव दिनुभएको हो ।

कार्यक्रममा बाल क्यान्सर रोग विशषज्ञ डा अञ्जली पण्डितले भन्नुभयो, “क्यान्सर धनी गरिब जोसुकैलाई हुनसक्छ, भोलिका दिनमा मलाई पनि हुनसक्छ, तपाईलाई पनि हुनसक्छ, क्यान्सर भयो भन्दैमा आत्तिने होइन, त्यसको उपचारमा लागि हाल्नुपर्छ, उपचारका लागि नेपालमै सम्भव छ, विदेश जानु जरुरी छैन ।”

बोनम्यारोको ट्रान्सप्लान्ट गर्ने नेपालकै पहिलो विशषज्ञ चिकित्सकसमेत रहनुभएका डा पण्डितले नङ र कपालबाहेक शरीरको हरेक अङ्गमा क्यान्सर हुनेसमेत बताउनुभयो । नेपाल क्यान्सर अस्पतालमा कार्यरत डा पण्डितले बालबालिकामा हुने क्यान्सर रोगको सङ्केत, त्यसको उपचार विधिका बारेमा अविभावक बढी सचेत हुनुपर्नेसमेत बताउनुभयो ।

सिद्धार्थनगरका सामुदायिक तथा संस्थागत विद्यालयका गरी ५०० भन्दा बढी विद्यार्थी, शिक्षक तथा लायन्स लिडरको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा बालबालिकाको आँखामा हुने रेटिना ब्लास्टो क्यान्सर रोगका विशषज्ञ डा ज्ञानेन्द्र लामिछानेले आँखामा हुने क्यान्सर रोगका बारेमा प्रस्ट्याउँदै त्यसको उपचार विधि र सङ्केतका बारेमा जानकारी दिनुभएको थियो । त्यसैगरी बालरोग विशषज्ञ डा राजु काफ्लेले बालबालिकालाई लाग्ने विभिन्न प्रकारका क्यान्सर रोगका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलीप भट्टराईले प्रत्येक बालबालिकाको उपचारको हक रहेको जनाउँदै क्यान्सर पीडितको उपचार, स्याहारसुसार र सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले स्थानीय सरकारले बालबालिकाको उपचारका लागि विभिन्न सङ्घसंस्थाको सहकार्यमा सहयोग गर्ने बताउनुभयो । उहाँले क्यान्सर लागेर उपचार गर्नुभन्दा पहिले लायन्स क्लब भैरहवा ग्रीनसिटीले जस्तै ठूलो सङ्ख्यामा लक्षित वर्ग राखेर सचेतना चलाउनु महत्वपूर्ण हुनेसमेत बताउनुभयो ।

लायन्स क्लब अफ ३२५ वि टुका पूर्वगभर्नर अरुणप्रताप राणाले लायन्स क्लबले विधागतरुपमै बालबालिका लाग्ने क्यान्सर रोगका विषयमा देशैभर सचेतना तथा उपचारमा सहयोग गरिरहेको बताउनुभयो ।

लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीका अध्यक्ष गोविन्दप्रसाद गिरीले बालबालिकामा हुने क्यान्सरका बारेमा नगरका करिब सबै विद्यालका प्रतिनिधिमूलक विद्यार्थी भेला गराई कार्यक्रम गरिरहँदा यो सन्देश घरघरमा पुग्ने बताउनुभयो ।

नेपाल बालकल्याण संस्थाका अध्यक्ष अधिवक्ता शिवप्रसाद गौडेलले बालबालिकाको उपचार, स्याहारसुसार र जानकारी पाउने अधिकारलाई संरक्षित गर्ने सबैको दायित्व रहेको बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ भैरहवा लुम्बिनीको अध्यक्ष लक्ष्मी केसी, नेपाल क्यान्सर सहयोग समूहका सल्लाहकार हुतानन्द खनाल, लायन्स क्लब ३२५ का डिस्ट्रिक लिडर महेशचन्द्र थापा, विजय पाण्डे, अनिता थापा, रुपमा हिराचन, सुशील गुरुङ, सङ्गम न्यौपाने, शिवनाथ गुप्ता, तनु कसौधन लगायतले बालबालिकामा हुने क्यान्सर रोगविरुद्ध सबैको सहकार्य र एकता भएमा सहजै पहिचान तथा न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

सो अवसरमा क्यान्सर रोगपीडित साढे चार वर्षीय आशिष अलीको उपचारका लागि नेपाल बालकल्याण संस्था र लायन्स क्लब भैरहवा ग्रीनसिटीले संयुक्तरुपमा रु ५१ हजार रकम सहयोग गरेका छन् । यसैगरी सिद्धार्थनगरका नगर प्रमुखले रु ५० हजार र डा राजु काफ्लेले रु ४० हजार सहयोग गरेका छन् ।