४ फागुन, गलेश्वर । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारीका अभावमा सेवा प्रवाह नै प्रभावित हुन थालेको छ । म्याग्दी, मुस्ताङ र बागलुङ जिल्ला हेर्नेगरी २०७४ सालमा सो कार्यालय स्थापना भएको थियो ।

कार्यालय स्थापना भएदेखि नै कर्मचारीको अभाव हुँदै आएको जनाइएकोे छ ।  हालसम्म दुईजना मात्रै कर्मचारीले मात्रै सेवा प्रदान गर्नुपर्दा समस्या उत्पन्न भएको कार्यालय प्रमुख सौरभ श्रेष्ठले बताउनुभयो ।

“एक जना कर्मचारी केही समयदेखि स्याङ्जामा काजमा हुनुहुन्छ । एक जना अधिकृत, एक जना प्राविधिक सहायकका भरमा कार्यालय सञ्चालनमा छ”, उहाँले भन्नुभयो । बजार अनुगमन र खाद्यसम्बन्धी बढी काम गर्ने यस कार्यालयमा कर्मचारी कम हुँदा सेवा प्रवाहमासमेत समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ । 

उहाँले आफूहरु धेरैजसो ‘फिल्ड’मै गएर काम गर्नुपर्ने हुँदा कहिलेकाहीँ कार्यालय खाली नै हुने गरेको गुनासो गर्नुभयो । उहाँले जनशक्ति अभाव हुँदा सोंचेअनुसारको काम गर्न कठिन भएको र कार्यालयको आफ्नै सवारी साधनसमेत नहुँदा तीन जिल्लामा काम गर्न समस्यासमेत भएको बताउनुभयो । 
 “हाम्रो आफ्नै सवारी साधन छैन, दुईपाङ्गे्र सवारी साधनका भरमै तीन जिल्लामा सेवा प्रदान गर्नुपर्ने अवस्था छ, हामी फिल्डमा निस्केका समयमा सेवाग्राही अनुज्ञापत्र जारी तथा नवीकरण गर्न आउनुभयो भने यसै फर्किनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । जनशक्ति पर्याप्त भएको भए काम पनि प्रभावकारी हुने थियो, सेवाग्राहीले सहजरुपमा सेवा पाउनसक्ने उहाँको भनाइ छ ।