८ फागुन, काठमाडौँ । फागुन ७ गतेको प्रजातन्त्र दिवस सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि मेरुदण्ड बनेकामा जोड दिइएको छ । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले शनिबार जुम माध्यमबाट आयोजना गरेको कार्यक्रमका वक्ताले देशमा भएका सबै परिवर्तनको जननीका रूपमा फागुन ७ गते रहेको बताउनुभयो । कार्यक्रममा प्रा डा अभि सुवेदीले प्रजातन्त्रमा संविधान, अदालत र सामान्य मान्छेको सम्मान हुनुपर्नेमा त्यस्तो भइरहेको छ कि छैन भन्ने मनन् गर्नुपर्ने बेला भएको बताउनुभयो ।

नागरिकको सेवा गर्ने जिम्मेवारी लिएकाहरु नै हेपाहा बनेको उल्लेख गर्नुहुँदै उहाँले मान्छेको इज्जत हुन छाडेपछि प्रजातन्त्र कमजोर हुने अनुभव सुनाउनुभयो । सो अवसरमा पूर्वराजदूत दिनेश भट्टराईले फागुन ७ गते मुक्ति दिवस भएकाले यस दिनको बिदा काट्ने पूर्ववर्ती सरकारको निर्णय सच्याउन माग गर्नुभयो ।

कार्यक्रममा फाउण्डेशनका सदस्यसचिव अतुल कोइरालाले प्रजातन्त्रको सुदृढीकरणका लागि जिम्मेवारी लिएर बस्नेको भूमिका महत्वपूर्ण हुनुपर्ने बताउनुभयो । कार्यक्रममा रामचन्द्र घिमिरे, देवेन्द्र सुवेदीलगायतले प्रजातान्त्रिक मूल्य, मान्यता विकासमा देखापरेका समस्याका बारेमा चर्चा गर्दै तिनको समाधानका लागि नेतृत्वको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।