८ फागुन, मनाङ  । मनाङका अधिकांश प्रहरी कार्यालय भाडाकै घरमा छन् । जिल्ला प्रहरी कार्यालय मनाङअन्तर्गतका अधिकांश प्रहरी चौकी विगत ३८ वर्षदेखि भाडाकै घरमा सञ्चालन भइरहेका छन् ।

प्रहरी नायब उपरीक्षक सुवास खड्काले जिल्लाका अधिकांश इकाइ संरचनाविहीन रहेको बताउनुभयो । उहाँका अनुसार निजी आवासलाई भाडामा लिएर मनाङको शान्ति सुरक्षामा प्रहरी खटिएका छन् । “जिल्ला प्रहरी कार्यालयको भवन निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “कार्यालय भवन निर्माणका लागि लामो समयदेखि आग्रह गर्दै आएको र सोह िबमोजिम हाल भवन निर्माण प्रक्रिया अगाडि बढेको छ ।”

सदरमुकाम चामे गाउँपालिका–४ स्थित बजारमा नै प्रहरी कार्यालयको सुविधा सम्पन्न भवन निर्माण भइरहेको उहाँको भनाइ छ । करिब रु १४ करोडको लागतमा जिल्ला प्रहरी कार्यालय मनाङको भवन निर्माण भइरहेको छ । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय मातहतका अन्य इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकी पनि भाडाकै घरमा छन् । प्रहरीले नजिक रहेका केही विद्यालयलाई ब्यारेक बनाएर प्रयोग गरिरहेका छन् भने अधिकांश प्रहरी चौकी भाडाका घरमा सञ्चालित छन् । भाडाका घरमा खान, बस्न, छलफल र अन्य कामकाजमा ठूलो समस्या भइरहेको उहाँले बताउनुभयो । निवास, कार्यालयको व्यवस्थापन साँघुरोमा राखिएको छ ।

धारापानीस्थित इलाका प्रहरी कार्यालयको सेवा पनि भाडाकै घरबाट प्रवाह भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । तालगाउँमा रहेको चौकीको जग्गा व्यक्तिको आवास निर्माण भएकाले भरखरै मात्र कार्यालयको मातहतमा ल्याइएको उहाँको भनाइ छ । मनाङको तालगाउँ, धारापानी, सदरमुकाम चामे, हुम्दे एयरपोर्ट, नार्पाभूमि र च्याखुमा इलाका प्रहरी तथा प्रहरी चौकी रहेका छन् । हुम्दे प्रहरी चौकीको जग्गा एयरपोर्ट विस्तारमा परेपछि ङिस्याङ गाउँपालिकाले चौकी निर्माणका लागि जग्गाको व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो ।