९ फागुन, कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने प्रदेश सडक निर्माण हुने भएको छ । जिल्लाको विकासका लागि महत्वपूर्ण कडीका रुपमा हेरिएको प्रदेश सडकको १४ किमी खण्ड निर्माणको चरणमा प्रवेश गरेको नवलपुरस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख रविन्द्र तिवारीले बताउनुभयो ।

नवलपुरको बौदिकाली गाउँपालिकाको डेढगाउँदेखि हुप्सेकोट गाउँपालिकाको झ्यालबाससम्म १४ किमी सडक निर्माण गर्न लागिएको हो । प्रदेश सरकारको महत्वपूर्ण योजनाकारुपमा समेत यस सडक खण्डलाई हेरिएको छ । नवलपुरमा निर्माण गर्न लागिएको यो सडक तनहुँको भिमाद–मानपुर–फुला सडकखण्डसँग जोडिनेछ । सोही मार्गबाट खैरेनी हुँदै पोखरासँग जोडिने भएकालेसमेत नवलपुरका लागि यो सडक आयोजनाको विशेष महत्वको रहेको बताइएको छ । यो आयोजना निर्माण भएपछि प्रदेशको राजधानीसँग जोडिने छोटो मार्ग बन्नेछ । 

डेढगाउँ, रुचाङ हुँदै झ्यालबास जोडिने यो सडकको सात मिटरको चौडाइमा कालोपत्र गरिनेछ । नालासहित निर्माण हुने सडकको चौडाइ योभन्दा धेरै हुनेछ । निर्माण सुरु भएको ३० महिनाभित्रै १४ किमी सडक निर्माण गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख तिवारीले बताउनुभयो । “निर्माण सुरु भएको मितिले ३० महिनामा सम्पन्न गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, चैतदेखि निर्माणको काम सुरु गर्ने योजना छ ।” 

यो सडक पहाडी क्षेत्रको विकासको आधारसमेत मानिएको छ । पहाडी क्षेत्रका गाउँलाई जिल्लाको सदरमुकामदेखि प्रदेशको राजधानीसँग जोड्ने भएकाले पहाडी क्षेत्रको विकासको आधारका रुपमा हेरिएको हो । सडकको पूर्वाधार जीर्ण हुँदा यस क्षेत्रमा सहजरुपमा यातायात सञ्चालनमा सधैँजसो समस्या हुने गरेको छ । प्रदेश सडक निर्माणपश्चात् पहाडी क्षेत्रमा उत्पादन हुने अम्रिसो, अदुवा, सुन्तलालगायत कृषिजन्य उत्पादनले बजार पाउने भएपछि किसानसमेत लाभान्वित हुनेछन् ।

रु ५१ करोडको लागतमा उक्त सडक निर्माण हुन लागेको कार्यालय प्रमुख तिवारीले बताउनुभयो । सडक पूर्वपश्चिम राजमार्गसँग जोडिने यो सडक  झ्यालबासदेखि डण्डा र झ्यालबासदेखि चोरमारासम्म यसअघि नै निर्माण भइसकेको छ  । 

उक्त सडक भोलि मङ्गलबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डेढगाउँमा शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ । बौदिकाली गाउँपालिकाले शिलान्यास कार्यक्रम आयोजना गर्न लागेको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिनुभयो ।