१२ फागुन, खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा १५ शय्याको अस्पताल बनाउन जग्गा सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षतिग्रस्त बनेको छ । प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार सो गाउँपालिकास्थित चिसापानीमा १५ शय्याको अस्पताल बनाउन जग्गा सम्याउँदा प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र नजिकै निर्माण गर्न लागिएको अस्पतालका लागि घडेरी सम्याउने क्रममा भवनको जग भत्किएपछि तीन कोठे भवन कामै नलाग्ने अवस्थामा पुगेको कार्यबाहक वडाध्यक्ष धनबहादुर राईले बताउनुभयो । “भर्ना भएका बिरामी राख्नका लागि बनाइएको सो भवनको टेवा पर्खाल र पेटी भत्किएपछि भवनमुनि भ्वाङ परेको छ”, उहाँले भन्नुभयो, “काम नै नदिने गरी भवनमा क्षति पुगेपछि गाउँपालिकाले भुक्तानीसमेत रोकी दिएको छ ।”

प्राथमिक स्वास्थ्य केन्द्रको क्षतिग्रस्त भवनलाई हाल पुरानो सामान राख्न, कोभिड–१९ बाट सङ्क्रमित स्वास्थ्यकर्मी राख्ने क्वारेन्टिनलगायतका काममा उपयोग गरिँदै आइएको थियो । घडेरी सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवनको तीनमध्ये दुई कोठा भासिएको प्रत्यक्षदर्शीले बताएका छन् । विसं २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको अस्पतालका लागि घडेरी सम्याउने क्रममा जग्गादाता प्रेमबहादुर बस्नेतको घरसमेत जोखिममा परेको छ । कूल रु १८ करोड छ लाख ८२ हजारको सीमाभित्र रहेर आगामी दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने अस्पतालको ठेक्का ड्रागन–रियर जेभीले लिएको छ तर, सो निर्माण कम्पनीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएको छ । 

प्राथमिक स्वास्थ्य केन्द्रको जग कमजोर र अस्पताल निर्माण गर्न लागिएको ठाउँमा पानी निस्किनाले जग खन्नेक्रममा भासिएको नेकपा (एमाले) जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष याम राईले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेपछि अहिले घडेरी सम्याउने काम रोकिएको स्थानीय बासिन्दाले बताएका छन् । 

सेवा प्रवाहका दृष्टिले जन्तेढुङ्गामा प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताललाई एकैठाउँमा राख्न खोजिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताउनुभयो । “विकासे काम गर्दा सामान्य क्षति हुन्छ”, उहाँले भन्नुभयो, “क्षतिग्रस्त भवन पुनःनिर्माणका लागि ठेकेदार कम्पनीसँग कुरा भइसकेको छ ।” अस्पताल निर्माणका क्रममा क्षति पुगेका सम्पूर्ण संरचना सिद्धगढी निर्माण कम्पनीले बनाइदिने कम्पनीका इन्जिनियर यादव केसीले जानकारी दिनुभयो । निर्माणाधीन अस्पतालमा अहिले घडेरी सम्याउने, पर्खाल लगाउने, आवश्यक सामग्री ल्याउनेलगायतका काम भइरहेको केठेदार कम्पनीले जनाएको छ ।