१२ फागुन, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका गहना हुन् भन्नुभएको छ ।

जमलस्थित राष्ट्रिय नाचघरमा राखिएको स्वर्गीय गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले जोडदिनुभयो, “ देशलाई चिनाउने सच्चा देशभक्त कलाकार भएको र कलाकै माध्यमबाट स्वर्गीय लामाले पनि देशको चिनारी बढाउने काम गर्नुभएको थियो ।”
देशमा हाल भइरहेका विभिन्न विकृति र विसङ्गतीलाई चिर्दै जान र राष्ट्र तथा राष्ट्रियता जोगाउन कलाकारले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेकामा मन्त्री आलेले जोड दिनुभयो ।

उहाँले स्वर्गीय लामाका परिवारमा समवेदनासमेत प्रकट गर्नुभयो । कला, संस्कृति तथा कलाकारको संरक्षण र सम्बद्र्धनका लागि आफू र मन्त्रालयका तर्फबाट पनि पहल हुने मन्त्री आलेले आश्वासन पनि दिनुभयो ।