१३ फागुन, बैतडी । जिल्लामा महाशिवरात्रि पर्वलाई लक्ष गर्दै बजार अनुगमन थालिएको छ । जिल्ला प्रशासन कार्यालयले चाडपर्वका बेला संयुक्तरुपमा नियमित अनुगमन गर्दै आएको छ । यसअघि दसैँतिहारका बेलामा पनि अनुगमन गरिएको थियो । महाशिवरात्रिको मेला लाग्ने क्षेत्रलाई प्राथमिकता दिएर अनुगमन थालिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुुभयो ।

पहिलो चरणमा जिल्लाको डिलासैनी गाउँपालिका क्षेत्रका बजार अनुगमन गरिएको छ । उक्त गाउँपालिकाको गोकुलेश्वर क्षेत्रमा महाशिवरात्रिका अवसरमा मेला लाग्ने भएकाले बजार अनुगमन गरिएको संयुक्त बजार अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा अखाद्य सामग्री राखेर बिक्रीवितरण गरिरहेका आठ पसलेमध्ये चारजनालाई रु १० हजारका दरले र चार जनालाई रु पाँच हजारका दरले जरिवाना गरिनाका साथै रु २३ हजार ९१५ बराबरको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरिएको थियो । यसैगरी मूल्यसूची नराखेका पसलेलाई मूल्यसूची राख्न पनि आग्रह गरिएको थियो । चाडपर्वका बेला कालोबजारी हुने र म्याद नाघेका सामग्री बढी बिक्रीवितरण हुने भएकाले बजार अनुगम थालिएको सूचना अधिकारी भारतीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले नियमित रुपमा बजार अनुगमन गर्ने गरेका छौँ, अहिले महाशिवरात्रिलाई लक्ष गरेर अनुगमन थालेका हौँ, अरू समयभन्दा चाडपर्वका बेला कालोबजारी र म्याद नाघेका सामग्री बिक्री हुने सम्भावना हुने भएकाले अनुगमन कार्यलाई निरन्तरता दिँदै आएका छौँ ।

” अनुगमनका क्रममा व्यापारीहरुलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्यवस्तुको मिति र लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रवीनकुमार अधिकारीले बताउनुभयो । यसअघि गौरा पर्व र दसैँतिहारका बेला गरिएको अनुगमनमा रु दुई लाख ५० हजार बराबरका अखाद्य तथा म्याद गुज्रेका वस्तु बरामद गरिएको थियो ।