१५ फागुन, वीरगञ्ज । नेपालको आर्थिक नगरीका रुपमा स्थापित पर्साको वीरगञ्ज महानगरपालिकाले, गौरवको परियोजना ‘उज्यालो वीरगञ्ज अभियान’ सञ्चालन गर्दै आएको छ ।भारतबाट नेपाल प्रवेश गर्ने प्रवेशद्वारका रुपमा रहेको महानगरपालिकामा सञ्चालन हुँदै आएको उक्त अभियान’ले नगरवासीलाई खुसी बनाएको छ ।

सो अभियानअन्तर्गत पालिकाभित्रका सबै सहरी क्षेत्रदेखि गाउँ क्षेत्रका हरेक सडकमा बिजुली बत्ती जडान गर्ने अभियानलाई निरन्तरता दिँदै आएकाले नगरवासीमा खुसियाली छाएको हो । ग्रामीण भेगका विभिन्न वडालाई उज्यालो बनाउन राष्ट्रिय योजना आयोगको आर्थिक सहयोगमा बुहवर्षीय परियोजनाका रुपमा उक्त अभियान सञ्चालन हँुदै आएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो ।

एकसय ३२ दशमलव एक वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको महानगरपालिकाको ३२ वटै वडाका सबै सडक तथा गल्लीमा एलइडीलाइट र चोक–चोकमा टावरलाइट जडान भएपछि रातिको समय आवतजावतमा सहज हुनाका साथै चोरीलगायत अन्य आपाराधिक गतिविधि न्यून भएको वडा नं २१ विन्दवासनी निवासी मनुकुमार यादवले बताउनुभयो । अभियानले नगरवासीलाई बेलुकाको समयमा व्यापार व्यवसाय गर्न सहज भएको व्यवसायीहरुको भनाइ छ ।

सोह्र वटा वडा नगर क्षेत्र र १६ वटा वडा ग्रामीण क्षेत्र रहेको महानगरपालिकाको सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन राष्ट्रिय योजना आयोगको ५० प्रतिशत समपूरक अनुदान प्राप्त भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डलेले जानकारी दिनुभयो । एलइडीलाइट जडानका लागि महानगरपालिकाले आह्वान गरेको सार्वजनिक सूचनाका आधारका टेण्डर प्रक्रिया पु¥याइ तीन वर्षभित्र १४ हजार बत्ती जना गर्न सूर्योदय÷टपसन जेभीसँग २०७५ जेठ २५ गते सम्झौता भएको उहाँको भनाइ थियोे ।

महानगरभित्र ४० वाटको तीन हजार ९४३ वटा, ६० वाटको सात हजार २०६ वटा र १०० वाटको दुई हजार २४१ वटा एलइडिलाइट जडान गर्न रु २३ करोड ९६ लाख २४ हजारमा ठेक्का सम्झौता भएकामा हालसम्म ५० प्रतिशतभन्दा बढी बत्ती जडान भइसकेको अधिकृत पाण्डले जानकारी दिनुभयो । उहाँले सम्पूर्ण एलइडी लाइटलाई पाँच वर्षसम्म ठेकेदार कम्पनीले नै मर्मत गर्नुपर्ने र पाँच प्रतिशत बत्ती जगेडा राख्नुपर्ने सम्झौतामा उल्लेख भएको बताउनुभयो । राति भएपछि गाउँगाउँमा अध्याँरोका कारण तरकारीको बिक्री बन्द गर्नुपर्ने समस्या हुँदै आएकामा टावरलाइट जडान भएपछि ती समस्या समाधान भएको पर्साको बैरिया बिर्ता निवासी राजुदिन मियाँ अन्सारीले जानकारी दिनुभयो ।

उहाँले चोकमा बत्ती नहँुदा अध्याँरोमा समान तथा नगद चोरीको समस्या हुँदै आएकामा बत्ती भएपछि अबेर रातिसम्म कारोबार हुन थालेको छ भन्नुभयो । ग्रामीण क्षेत्रको चोकमा महानगरपालिकाले टावरलाइट र सडकमा एलइडीलाइट जडान गरापछि गाउँमा पनि रौनक छाएकोे वडा नं २६ निवासी सिंघासनप्रसाद कुर्मीले बताउनुभयो। ग्रामीण क्षेत्र उज्यालो भएपछि यस भेगमा पनि व्यापार वृद्धि भएको उहाँको भनाइ थियो । ग्रामीण क्षेत्रका १५ वटा वडामा पनि लाइट जडानको कार्य पूरा भएको र आउने तीन महिनाभित्र बत्ती जडानको कार्य पूरा हुने ठेकेदार कम्पनीका परियोजना प्रमुख तथा इञ्जिनीयर भागिरथ दुवेले जानकारी दिनुभयो । उहाँले हालसम्म आठ हजारभन्दा बढी लाइट जडान भइसकेको र बाँकी रहेका लाइटलाई अब दुई महिनाभित्र पूरा गरिने बताउनुभयो ।

विद्युत् प्राधिकरणको पाँचौँ प्रसारणलाइनमा केही समस्या देखिएपछि अटो सेन्सर लाइट जाडन थालिएकाले काम चाँडै पूरा हुने इञ्जिनीयर दुवेको भनाइ थियो । उहाँले कोरोना सङ्क्रमणका कारण भएको लकडाउन र तारको समस्याले गर्दा र्निधारित समयमा परियोजना पुरा नभएको बताउनुभयो । महानगरपालिकाभित्र रहेका विजुलीका पोलमा जडान गरिएको वत्ति दिनभरी वलिरहने र राज्यको धेरै उर्जा खेरगइरहेको देखेपछि ओटो सेन्सर तथा अटो कट प्रविधियुक्त वत्ती जडान गर्न थालिएको नगर प्रमुख सरावगीले जानकारी दिनुभयो। उहाँले वर्षौदेखि अध्यारोमा बस्दै आएका आम नागरिकको घर अगाडीको पोलमा एलइडिड लाइइट जडान भई उज्जयालो भएपछि सर्वसाधारण हर्षित भएको बताउनुभयो ।

अभियानअन्तर्गत महानगरपालिकाभित्रका सबै विद्यालय, मठमन्दिर, मस्जिदलगायत धर्मस्थलदेखि गल्ली गल्लीलाई उज्यालो बनाइने भएको छ । एलइडीलाइट अत्याधुनिक टेक्नोलोजीको भएका कारण सात वर्षसम्म कुनै समस्या नदेखिने बताइएको छ । सो अभियानका लागि दुई हजार जति खम्बा थपिएकाले त्यसमा एलइडी लाइट जडान गर्न महानगरपालिकाले थप दुई करोड रुपैयाँ बजेट छुट्याएको छ ।

विद्युत् प्रसारण लाइनको पाँचौँ तर समयमा जडान हुन नसक्दा आफूहरुको रु ६० देखि ७० लाख अतिरिक्त खर्च भएको नगर प्रमुख सरावगीले जानकारी दिनुभयो । विद्युत् प्राधिकरणलाई पटकपटक पत्राचार गर्दा अब बल्ल रु छ करोड बजेट छुट्याएर पाँचौँ तार हाल्ने तयारी भएको उहाँको भनाइ थियो ।