१५ फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आउने साधुसन्तलाई वितरण गरिने सामग्रीको सङ्कल्प गर्नुभएको छ ।

शीतल निवासमा आज बिहान १०ः३० बजेको साइतमा महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आएका साधुसन्तलाई बिदाइका दिन वितरण गरिने राडी, पाखी, बख्खु, कमण्डलु, च्यादर, फलफूल र सिदासहितको सामग्री उहाँले विधिपूर्वक सङ्कल्प गर्नुभएको हो । सङ्कल्प गरिएको सामग्री प्रतिष्ठित साधुसन्तलाई प्रदान गरिने गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मा घिमिरेले राससलाई जानकारी दिनुभयो ।

प्रत्येक वर्ष फागुन कृष्ण एकादशीका दिन यी सामग्री सङ्कल्प गर्ने विधि छ । यी सामग्री फागुन कृष्ण औँसीका दिन साधुसन्तको बिदाइका बेला दिइन्छ । फागुन कृष्ण त्रयोदशीको रात्रिमा महाशिवरात्रि पर्व मनाइन्छ । यसवर्ष महाशिवरात्रि पर्व फागुन १७ गते मङ्गलबार परेको छ ।

राष्ट्राध्यक्षबाट साधुसन्तलाई दिइने सामग्रीको सङ्कल्पपछि आज बिहानदेखि नै पशुपति क्षेत्र र थापाथली, त्रिपुरेश्वर क्षेत्रका अखडामा भण्डारा सुरु गरिएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र बस्ने नागाबाबालाई भने आज बेलुकीदेखि नै खानपिन र धुनीको व्यवस्था गरिने संस्थान पशुपति कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

यस वर्ष कोरोना जोखिम कम हुँदै गएको र धेरैले तेस्रो चरणसम्मको खोप लगाएकाले पनि देशविदेशबाट आउने साधुसन्तको सङ्ख्या बढेको छ । यस वर्ष बिदाइका दिन साधुसन्तलाई सम्मानका साथै अन्तक्र्रिया कार्यक्रम पनि गर्न लागिएको संस्थानले जनाएको छ । त्यसका लागि साधुसन्तको गणनासमेत सुरु गरिएको जनाइएको छ । पशुपति क्षेत्रमा आजदेखि साधुसन्तलगायत अन्य आगन्तुकको विशेष भीड देखिन्छ ।