१६ फागुन, गण्डकी । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका विभिन्न तीन वटा वडा कार्यालय भवन निर्माण गरिएको छ । जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा रु दुई करोड नौ लाख ५४ हजारको लागतमा वडा नं ३, ४ र ५ को कार्यालय भवन निर्माण गरिएको हो ।
वडा नं ३को पाहुँदुरमा रु ६९ लाख ८८ हजार ७४९, वडा नं ४को बाँसखर्कमा रु ६९ लाख ३० हजार ५११ र वडा नं ५को झोवाङमा रु ७० लाख ३५ हजार ५६६को लागतमा कार्यालय भवन निर्माण गरी सञ्चालनमा ल्याइएको हो । दुईतले सुविधा सम्पन्न ती पक्की भवन निर्माणका लागि साझेदारी कार्यक्रमअनुसार कूल लागतको ६० प्रतिशत जिल्ला समन्वय समिति र ४० प्रतिशत गाउँपालिकाले व्यहोर्ने व्यहोरेको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख वैनबहादुर अधिकारी क्षेत्रीको नेतृत्वमा गएको एक टोलीले नवनिर्मित भौतिक पूर्वाधार एवं सेवा प्रवाहका बारेमा जानकारी लिएको थियो । उहाँले जनतालाई छिटोछरितो एवं प्रविधियुक्त सेवा प्रदान गर्न भौतिक पूर्वाधारले पनि  महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । 
टोलीले वडा नं ५को झोवाङस्थित पर्यटकीयस्थल शीतलगुफामा निर्माण भइरहेको संरचना पनि अवलोकन गरेको थियो । उक्त गुफा परिसरमा रु २५ लाख ५१ हजार ८९० को लागतमा १०८ गौमुखे धारा निर्माण गरिएको छ । सो कार्यका   लागि  जिल्ला समन्वय समितिले रु  १७ लाख ८६ हजार ३२३ र बाँकी गाउँपालिकाले व्यहोरेको थियो ।