१८ फागुन, भक्तपुर । साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । विसं २०३२ मा पाल्पामा जन्मनुभएका उहाँको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो ।

केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलासिस गराउँदै आउनुभएका पाल्पालीलाई पछिल्लो समय कोरोना सङ्क्रमणसमेत भएको थियो । केही दिन अस्पतालमा राखेर उपचार गरे पनि बचाउन नसकिएको पाल्पालीकी श्रीमती एवं साहित्यकार पत्रकार रेणुका भट्टराईले जानकारी दिनुभयो ।

उहाँको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाली साहित्यमा हाइकु, कथा, कविता र गीत लेखनका साथै पाल्पाली पत्रकारितामा पनि सक्रिय हुनुुहुन्थ्यो । उहाँ कानुन व्यवसायीसमेत हुनुहुन्थ्यो । पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहनुभएका पाल्पालीका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।