१८ फागुन, मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनअन्तर्गत सोमबार सम्पन्न भएको पदाधिकारीको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

आज बिहान सार्वजनिक भएको पदाधिकारीको अन्तिम परिणामअनुसार पार्टीको जिल्ला उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी हुनुभएको छ । कठायतले ६११ र लामिछानेले ६०६ मत प्राप्त गर्नुभयो । सचिव पदमा भीमसेन महत ८१३ र इश्वर पाठक ७३५ मत प्राप्त गरी विजयी हुनुभयो । सहसचिवमा इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईँ विजयी हुनुभयो । न्यौपाने ८५० तथा बजगाईंले ५६२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा सर्वसम्मत चयन हुुनुभएको थियो । सभापतिमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको थियो । दोस्रो चरणका लागि संस्थापन पक्षका दुई उम्मेदवार लामा र आनन्द पराजुलीबीच प्रतिस्पर्धा हुने भएपछि शीर्ष नेतृत्वको पहलमा लामालाई सर्वसम्मत चयन गरिएको थियो । सदस्यहरुको भने मत गणना हुन बाँकी छ ।