१८ फागुन, काठमाडौँ । एसएस फाउन्डेशनले दोलखाको आठ विद्यालयका विद्यार्थीलाई दुई हजार १०० झोला आज हस्तान्तरण गरेको छ ।

बैतेश्वर मावि, नाम्दु, श्री शैलुङ्गेश्वर आधारभूत विद्यालय, झोर, श्री मानेडाँडा प्रावि, भीमेश्वर, श्री गर्जाङढुङ्गा मावि, जिरी, कुटीडाँडा मावि, मकैवारी, श्री क्षमावती मावि, भीमेश्वर, श्री शान्ति आदर्श मावि, बिगु र बुलुङ्ग खानी प्रावि, बिगु–३, बुलुङ्गलाई प्रदान गरिएको हो ।

उक्त विद्यालयका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले दोलखाको राप्रपाका क्षेत्रीय अध्यक्ष कुमार कार्कीलाई झोला हस्तान्तरण भएको हो । उहाँले उक्त विद्यालयका लागि झोला लगेर वितरण गर्नुहुने बताइएको छ ।

राप्रका पूर्वअध्यक्ष राणाले फाउन्डेशनले शिक्षा र विद्यालयमा पढ्ने बालबालिकाका लागि स्कुल झोला वितरण गरेर राम्रो सहयोग गरेको र आगामी दिनमा  यस्तो सहयोगलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

फाउन्डेशनका अध्यक्ष तथा वरिष्ठ कलाकार  मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ । फाउन्डेशनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो । यसअघि एसएस फाउन्डेशनले डोटीको केआई सिंह गाउँपालिका–४ मा अवस्थित  झिमे मालिका विद्यालयलाई पनि ८०० झोला वितरण गरेको थियो ।