१९ फागुन, काठमाडाँै । नेपालका लागि मोरिससका नवनियुक्त राजदूत शान्ति वाइ हनुमानजीलाई नेपाल–मोरिसस विजनेस काउन्सिलले सम्मान गरेको छ ।

सम्मान गर्न बुधबार आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले हनुमानजीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपालका लागि मोरिससका महावाणिज्यदूत गणेश कार्की, काउन्सिलका अध्यक्ष बटु लामिछानेलगायतले राजदूत हनुमानजीलाई नेपाली सामानका उपहारसहित सम्मान गर्नुभयो ।

छ सदस्यीय प्रमण्डलको नेतृत्व गर्दै छदिने भ्रमणका लागि गत शुक्रबार काठमाडौँ आउनुभएका राजदूत हनुमानजीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुका साथै शिष्टाचार भेट गर्नुभएको थियो । हनुमानजी मोरिससको प्रतिनिधिसभाका पूर्वसभामुखसमेत हुनुहुन्छ ।

 सो अवसरमा राजदूत हनुमानजीले मोरिससमा नेपालीका लागि व्यापारिक र सांस्कृतिक आदान प्रदानका अवसरबारे उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ गराउन आफूले भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले दुई देशबीचको व्यापारिक सम्बन्ध वृद्धि र पर्यटन प्रवद्र्धन अवसरका रुपमा यसलाई लिनुपर्ने बताउनुभयो । भारतको नयाँ दिल्लीस्थित आवासीय राजदूत हनुमानजीले भ्रमणका अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग अलगअलग भेटवार्ता गर्नुभएको थियो ।

भ्रमण टोलीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गरेको थियो भने त्यसअघि पोखरा र अन्नपूर्ण हिमालको दृष्यावलोकन गरेको थियो ।