२२ फागुन, म्याग्दी । मालिका गाउँपालिका–४ च्युरीबोटमा रहेको सिद्धार्थ माविलाई चार ज्येष्ठ नागरिकले शनिबार रु तीन लाख ७० हजार सहयोग गर्नुभएको छ ।

च्युरीबोटमा जन्मिएर हाल बेलायत बस्दै आउनुभएका नरबहादुर पुन, उहाँकी श्रीमती धनमाया, पोखरा बस्ने तनमाया पुनले रु एक÷एक लाख र च्युरीबोटकी लालसरी घर्तीले रु ७० हजार सहयोग गर्नुभएको छ । नरबहादुर, धनमाया र तनमायाले चौरासी वर्ष पुगेका अवसरमा विद्यालयमा स्थापित सिद्धार्थ अक्षयकोषलाई रकम उपलब्ध गराउनुभएको हो । 

तनमायाले दिवङ्गत श्रीमान् हिमप्रकाश घर्ती (पुन)को स्मृतिमा सहयोग गर्नुभएको हो । हिमप्रकाशको गत वर्ष दुर्घटनामा ज्यान गएको थियो । उहाँहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन, प्रअ ललितबहादुर घर्ती र सिद्धार्थ मावि अक्षयकोषका अध्यक्ष भिजेन्द्रमान पुनलाई नगद हस्तान्तरण गर्नुभयो । चौरासी वर्ष पुगेको खुसियाली मनाउने फजुल खर्च बचाएर आफ्नो जन्मथलोमा विद्यालय सञ्चालन गर्न स्थापित अक्षयकोषमा सहयोग गरेको नरबहादुरले बताउनुभयो । नरबहादुरका दम्पत्तिले यसअघि अक्षयकोषमा रु २५ हजार सहयोग गर्नुभएको थियो । 

कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा तीन निजी स्रोतका शिक्षक छन् । विद्यालयमा एक सय ६८ विद्यार्थी छन् । निजी स्रोतबाट मावि सञ्चालन गरिएको हो । विद्यालयले सहयोगदातालाई सम्मान गरेको थियो ।