२२ फागुन, मान्म । कालीकोट जिल्लामा संस्कृत माध्यमबाट अध्ययन गराउन स्थापना गरिएको विद्यालयमा संस्कृत शिक्षककै अभाव भएको छ । खाँडाचक्र नगरपालिका–१ मा रहेको सरस्वती गुरुकूल आधारभूत विद्यालयमा संस्कृत पढाउने गुरुको अभाव भएको हो ।

विसं २०७० महायज्ञ लगाएर त्यसबाट उठेको दानबाट माघ २८ गतेदेखि संस्कृत गुरुकूल विद्यालय स्थापना गरिएको थियो ।  पहिलो चरणमा कक्षा दुई सम्मको अध्यायन अनुमति जिल्ला शिक्षा कार्यालयबाट लिइएकामा  हाल कक्षा छ सम्मको अध्यापन हुने भए एक जना पनि संस्कृत शिक्षक नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयचन्द्र अधिकारीले बताउनुभयो । “विशुद्ध संस्कृत भाषाबाट विद्यार्थीलाई अध्यापन गराउनका लागि गुरुकूल विद्यालयको स्थापना गरेका हौँ”,        उहाँले भन्नुभयो, “हामीले सरकारी तथा गैरसरकारी निकायको सहयोग नपाउँदा संस्कृत शिक्षक राख्न सकेका छैनौँ ।” विद्यालयमा पाँच कर्मचारी भए पनि संस्कृत पठाउने गुरु नभएको र विद्यालयको भौतिक पूर्वाधारमा पनि समस्या भएको विद्यालयका प्रधानाध्यापक शशि आचार्यले बताउनुभयो । 

“बेञ्च र डेस्क नहुँदा विद्यार्थी भुइँमै बसेर पढ्नुपर्ने बाध्यता रहेको छ”, उहाँले भन्नुभयो, “अहिले बजेट अभाव छ, संस्कृत भाषा अध्ययन गराउने गुरु पनि छैनन् । प्रत्येक वैशाखमा भर्ना लिई विद्यार्थीलाई खाने, बस्ने सुविधासहितको विद्यालय बनाउने सोच हो । त्यसो गर्न सकिएको छैन ।”विद्यालयमा हाल ९२ विद्यार्थी अध्ययनरत रहेको र जिल्लाका रास्कोट नगरपालिका, शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका, नरहरिनाथ गाउँपालिकालगायत स्थानीय तहबाट विद्यार्थी भर्ना गरिएको प्रधानाध्यापक आचार्यले जानकारी दिनुभयो ।