२२ फागुन, मनाङ । पुनरुत्थानशीलता विश्लेशण तथा जीविकोपार्जनसम्बन्धी विस्तृत अध्ययन कार्यशाला सदरमुकाम चामेमा आयोजना गरिएको छ । कार्यशालामा पालिकास्तरको जीविकोपार्जनका मुख्य माध्यमको पहिचान गरिनाका साथै जलवायु परिवर्तनले खाद्यसुरक्षा र जीविकोपार्जनमा पारेको असर तथा समुदायको अनुकूलन क्षमताका सम्बन्धमा विस्तृत छलफल गरी सोसम्बन्धी सूचना सङ्कलन गरिएको विश्व खाद्य कार्यक्रम गण्डकी प्रदेश संयोजक विष्णु आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो अध्ययन गण्डकी प्रदेशका सबै जिल्लामा गरिने र अध्ययनको नतिजा सङ्घ, प्रदेश र स्थानीय सरकारलाई उपलब्ध गराउने उद्देश्यका साथ कार्यशाला गरिएको हो । साथै यस अध्ययनबाट प्राप्त हुने निष्कर्षका आधारमा आगामी दिनमा सरोकारवालालाई तथ्यमा आधारित रही आवश्यक नीति निर्माण गर्न र योजना निर्माण तथा कार्यान्वयनका लागि सहयोग पुग्ने अपेक्षा गरिएकोसमेत संयोजक आचार्यले प्रष्ट्याउनुभयो ।   जिल्ला समन्वय समितिका प्रमुख यज्ञप्रसाद घलेले स्थानीयवासीको प्रत्यक्ष संलग्नतामा गरिने यस्तो छलफल तथा सूचना सङ्कलनले स्थानीयस्तरको अवस्थाको यथार्थ चित्रण हुनसक्ने र यसबाट जिल्ला तथा पालिकास्तरमा नीति, निर्माण र योजना तर्जुमा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । 

साथै यस अध्ययनबाट प्राप्त हुने निष्कर्षका आधारमा आगामी दिन वातावरणीय जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालनमा सहयोग गर्न पनि सम्बन्धित सरोकारवाला निकायलाई अनुरोध गरिएको थियो । राष्ट्रिय योजना आयोग र गण्डकी प्रदेश नीति तथा योजना आयोगको आयोजना, जिल्ला समन्वय समितिको संयोजन र विश्वखाद्य कार्यक्रमको सहकार्यमा सञ्चालित उक्त कार्यशालामा जिल्लाका चारवटै गाउँपालिकाका साथै जिल्लास्थित अन्य सरोकारवाला निकायको सहभागिता थियो  ।