काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंमा लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ ।
विभिन्न सुविधासहित पुनर्निर्माण तथा स्तरोन्नत्तिपश्चात् हालै काठमाडौं महानगरपालिका वडा नं. २६ लाई एक समारोहबीच हस्तान्तरण गरिएको यो मैदान आमनागरिकका लागि खुला गरिएको छ ।
यो परियोजना पूर्ण रूपमा वडा नं. २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निर्माण तथा स्तरोन्नत्ति गरिएको हो ।
५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको यो मैदानमा ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० रूख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा छन् ।
मैदानमा अन्तर्राष्ट्रियस्तरको एस्ट्रोटर्फ बिच्छाई मिनी फुटबल मैदान बनाइएको छ । वातावरणीय पक्षलाई ध्यानमा राखी आवश्यक सबै प्रक्रिया अपनाएर एस्ट्रोटर्फ लगाइएको छ । टर्फमुनि जमिनका चारैतिर ३ फिट व्यास र १० देखि १५ फिट गहिराइका १३ वटा इनार बनाइएका छन् ।
वर्षायाममा पानी रिचार्जका लागि सबै इनारमा जम्मा हुँदै बढी पानीमात्र मुख्य निकासमार्फत जाने व्यवस्था गरिएको छ । पानीको निकासका लागि पनि उचित व्यवस्था छ ।
मैदानको स्तरोन्नतिले समुदायमा तथा वातावरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । एनसेलको सीएसआर अन्तर्गत मैदानको विकास तथा संरक्षणका लागि एनसेल र काठमाडौं महानगरपालिका वडा नं। २६ बीच गत वर्ष सम्झौता भएको थियो ।