काठमाडौं :  साउदी अरबका परराष्ट्रमन्त्री फागुन ३० गते नेपाल भ्रमणमा आउने भएका छन्। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्री परीषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उक्त कुरा जानकारी दिएका हुन्। उनी २०७८ फागुन ३० गतेदेखि चैत १ सम्म नेपाल भ्रमणमा रहने भएका छन्।  

प्रवक्ता कार्कीले सार्वजनिक गरेका मन्त्री परीषद् बैठकको निर्णय निम्नलिखित छन्;  
 –बञ्चरेडाँडाँ ल्याण्डफिल साइडमा देखिएका स्थानीय समस्या समाधान गर्ने सन्दर्भमा विगतमा भएका प्रतिवद्धताहरु कार्यान्वयन गर्न नेपाल सरकार प्रतिवद्ध र कृयाशील रहेको छ। बञ्चरेडाँडाँ ल्याण्डफिल्ड साइडमा फोहोर व्यवस्थापन तथा साइड सञ्चालन गर्दा त्यसबाट हुने वातावरणीय प्रभावको मुल्याङ्कनको आधारमा मानव जीवन पशुपंक्षी,जीव जन्तु, वनस्पतीमा पर्ने प्रभाव न्युनीकरण गर्न आवश्यक सबै अवलम्वन गर्दै फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि सम्बन्धित निकायबाट आवश्यक कार्यप्रारम्भ गर्न र सडकको निर्माण तथा स्तरोन्नति गर्न सम्बद्ध निकायलाई निर्देशन दिइएको, यस सम्बन्धी कार्यमा आवश्यक सहजिकरण र समन्वय गर्न स्थानीय जनप्रतिनिधि समेत रहेको एक उच्च स्तरीय समिति र तत्काल आइपर्ने समस्या समाधानका लागि सरोकारवालासमेत सहभागी एउटा र्‍यापिड एक्सन टास्क फोर्स गठन गर्ने।

–राष्ट्रिय वाणिज्य बैंकको स्वामित्वमा रहेको सुर्खेत जिल्लामा रहेको क्षेत्रफल ९ कट्ठा ८ धुर जग्गा नेपाल राष्ट्र बैंकलाई बिक्री गर्न स्विकृति प्रदान गर्ने।

–नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेशप्रसाद थामी(सुर्खेत)लाई नियुक्त गर्ने।

–संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सन् २०२२ मार्च ७ देखि १८ मा हुने कन्फ्रेन्समा सहभागिताका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाको नेतृत्वको टोलीको भ्रमण स्विकृत गर्ने।

–बंगलादेशको ढाकामा आगामी ८ देखि ११ मार्च सन् २०२२ मा आयोजना हुने कन्फ्रेन्समा सहभागी हुन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधिमण्डललाई स्विकृति प्रदान गर्ने।

–सरकार जी टु जी अन्तर्गत भारत सरकारसँग भएको हस्ताक्षरमा सोही बमोजिम ज्वाइन्ट स्टेयरिङ कमीटिमा सहभागी हुन नेपालको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विकास महाशाखा सहसचिवको नेतृत्वमा टोली गठन गर्ने तथा मल खरिद गर्ने निकायको रुपमा कृषि सामग्री लिमिटेडलाई तोक्ने।

–साउदी अरवका परराष्ट्र मन्त्रीबाट २०७८ फागुन ३० गतेदेखि चैत १ सम्म गर्नुहुने नेपाल भ्रमणमा द्विपक्षीय वार्ताका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने।

–२०७८ चैत १४ मा अमेरिकाको न्युयोर्कमा हुने बैठकमा सहभागी हुन सचीव डा.प्रेमनारायण कँडेललाई स्विकृत दिने।

–श्रम रोजगार तथा समामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको नेतृत्वमा हुने साउदी अरब र कतार भ्रमण गर्न स्विकृति दिने।

–तुलसीपुर उपमहानगरपालीका र स्पेनको वीलओ नगरपरीषद्‍बीच भगिनी सम्बन्ध कायम गर्न स्विकृति दिने।

–फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनको मस्यौदा तयार गर्न सहमति प्रदान गर्ने।

–पत्रकार दुर्घटना विमा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ स्वीकृत गर्ने।

–बन्यजन्तुमैत्री पूर्वाधार निर्देशिका २०७८ स्वीकृत गर्ने।

–निजामती कर्मचारीका सन्तानलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउन निर्देशिका २०७८ जारी गर्न स्वीकृति दिने।

–औद्योगिक व्यवसाय नियमावली २०७८ स्वीकृत गर्ने।