अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज शुक्रबार काठमाडौं आएर फर्किएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा फोटो र भिडियो राखेर चर्चा गर्न सुरू भएको छ।
विमानस्थल स्रोतका अनुसार शुक्रबार काठमाडौं आएको कार्गो जहाजले अमेरिकी दूतावास र कुटनीतिक निकायका सामाग्री बोकेर ल्याएको छ। ‘आज आएको जहाजले सधैं झै कुटनीतिक निकाय र दूतावासका सामाग्री लिएको आएको हो’, विमानस्थल स्रोतले सेतोपाटीसँग भन्यो,‘यो पहिलो पटक आएको होइन, यसअघि पनि कुटनीतिक नियोगका सामाग्री लिएर आउने गरेको छ।’
विमानस्थलका अनुसार शुक्रबार बिहान सवा नौ बजे काठमाडौं आएको जहाज पौने १२ बजे फर्किएको छ।
‘अमेरिकी दूतावास र कुटनीतिक नियोगकका सामाग्री लिएर शुक्रबार बिहान आएको जहाज फर्किसकेको छ’, स्रोतले भन्यो।









