काठमाडौं । बाख्राको दूधबाट उत्पादन हुने चीजको बिक्रि बढेसँगै तनहुँको बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रलाई बजारको माग धान्न धौ–धौ पर्न थालेको छ । विशेष गरी पछिल्लो समय पर्यटकीय गन्तव्यहरुमा विदेशी पाहुना र आन्तरिक पर्यटकहरुले चीज मन पराएसँगै यसको माग बढ्न थालेको हो ।

विदेशीहरुले चीज र वाइन खाने भएको र नेपाली चीज विदेशको भन्दा ताजा र गुणस्तर युक्त भएको कारणले पनि पछिल्लो समय धेरै मन पराइएको बाख्रा अनुसन्धान कार्यक्रम तनहुँका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले बताए । अधिकृत आचार्यका अनुसार अहिले बन्दीपुरको राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रमा ६ प्रजातिका बाख्राहरू पालिएको छ । जसमध्ये बोयर र सानेन जातको बाख्राको माग भने बढीरहेको छ । उनले सानेन जातको एउटा बाख्राले सानो परिवारलाई पर्याप्त दुध पु¥याउन सक्ने बताए ।

यो बाख्राले एक दिनमा साढे दुई लिटरदेखि ४ लिटरसम्म दुध दिने गरेको उनको भनाइ छ । दूधभन्दा पनि सानेन जातको बाख्रा चीजको लागि विश्वभर प्रसिद्ध छ । पहिला इटालीबाट २५ सय रुपैयाँमा चीज किनेर नेपालमा ३५ सयको हाराहारीमा बिक्री हुने गरे पनि अहिले नेपालकै उत्पादन बजारमा बिक्री भइरहेको उनले बताए । उनले स्थानीयको माग, होटल व्यवसायीहरुको माग अझै पनि अनुसन्धान केन्द्रले धान्न नसकेको बताए । यो बाख्राले सबै किसिमका घाँस खाए पनि पोसिलो कुरा धेरै खुवाउनु पर्ने उनको भनाइ छ । अनुसन्धान केन्द्रले अहिले चीजसँगै सानेन जातको पाठीहरू पनि बिक्री गर्दै आएको छ । तीनदेखि ५ महिनाको पाठीको मूल्य किलोको हिसाबमा हुने र सामान्यतया बजारमा २५ देखि ३५ हजारसम्म पर्ने उनको भनाइ छ ।

यस्तै राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका संयोजक राजु कँडेलले नेपालमा बाख्राको दुध भन्दा चीजको बढी माग आइरहेको बताए । उनले अहिले बन्दीपुरको बाख्रा अनुसन्धान केन्द्रबाट उत्पादित चीज पोखराका विभिन्न होटलहरूमा बिक्री हुने बताए । २५ सय रुपैयाँ तिरेर स्पेनबाट ल्याइएको चीज भन्दा नेपालमा उत्पादित चीज सस्तो र गुणस्तरीय भएकोले पनि पछिल्लो समय यसको माग बढेको उनको भनाइ छ । बन्दीपुरमा उत्पादित चीज किलोको ८ सय रुपैयाँमा बेच्ने गरेको र विदेशीहरुले पनि धेरै मन पराएको प्रतिक्रिया आएको उनले बताए । उनले केही वर्ष यता नेपालीहरुले पनि चीज धेरै मन पराउन थालेको बताए । बाख्राको दूधमा फ्याट कम र प्रोटिन बढी हुने हुँदा युरोप, अमेरिकामा गाई–भैंसीको तुलनामा बाख्राको दुध र चीजको माग उल्लेख्य रहेको छ ।