उदयपुर । उदयपुरको बेलका नगरपालिका–१ मा भएको विद्यार्थी कविता सुनुवारको हत्यामा उनकै सहपाठीको संलग्नता देखिएको छ।

उदयपुर प्रहरीका अनुसार हत्यामा संलग्न भएको आरोपमा सहपाठी पक्राउ परेका छन्।

बियरको बोतल र ढुंगा प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया नाबालिकालाई पक्राउ गरेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा सुनुवार र उनकै कक्षामा अध्ययनरत अर्की विद्यार्थीबीचको झगडाका क्रममा हत्या गरेको खुल्न आएको प्रहरीको भनाई छ।

पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत थिइन्।

‘हत्यामा संलग्न विनोद त्यो स्कुलमा पढ्ने होइनन्, तर बहिनीलाई पुर्‍याउन भन्दै गएका थिए’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘बाटोमा विवाद बढ्यो र सुरुमा वियरको बोतल र पछि ढुंगाले हानेर हत्या गरेको पाइएको छ।’

प्रहरीले बोतलको टुक्रा र ढुंगा फेला पारेको छ। शवलाई पोष्टमार्टमका लागि लैजाने प्रहरीको तयारी छ।