९ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तह निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण मतदातामा अपिल गर्नुभएको छ ।

नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना दिँदै उहाँले लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न आग्रह गर्नुभयो ।नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै निर्माण गरिएको नयाँ संविधान कार्यान्वयनका क्रममा दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न हुन गइरहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले सङ्घीयतालाई जनताको घरदैलोसम्म पु¥याउने स्थानीय सरकार निर्माणमा जनताको उत्साहप्रद सहभागिताले वर्तमान राजनीतिक परिवर्तनलाई अझ बढी संस्थागत र समृद्ध तुल्याएको बताउनुभएको छ ।

देश, लोकतन्त्र र संविधानविरुद्ध देखापरेको प्रतिगमनकारी षडयन्त्रलाई चिर्दै मुलुक, लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको प्रतिगमन विरोधी वाम–लोकतान्त्रिक गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको उल्लेख गर्दै अध्यक्ष दाहालले लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति तथा समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको यस गठबन्धनलाई अभिमत प्रकट गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले नयाँ वर्षले सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादको यात्रामा अग्रसर हुन नयाँ वर्षले प्रेरणा दिने विश्वाससमेत व्यक्त गर्नुभएको छ । उहाँले नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकताको भावना विकास गराउने विश्वास पनि व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सहित उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नुभएको छ ।