९ बैशाख, काठमाडौं । अमेरिकाले युक्रेनलाई ८० करोड अमेरिकी डलर बराबरको थप सैन्य सहायता पठाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

८० करोड डलर बराबरको यो सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन् । रुससँग युक्रेनको युद्ध सुरु भएयता तीन सय करोड डलर बराबरको सैनिक सहायता दिइसकिएको बताइएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस–युक्रेन युद्ध एक महत्त्वपूर्ण विन्दुमा पुगेको बताउनुभएको बीबीसीले जनाएको छ ।

गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो । आक्रमणको दुई महिना पुग्नै लागेको छ । रुसले हिजो बिहीवार युक्रेनको मारिओपोल सहर कब्जा गरेको घोषणा गरेको छ । तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिओपोल कब्जा गरेको रुसको दाबीलाई अस्वीकार गर्नुभएको छ । यद्यपि रुसले पूर्वी युक्रेनको डोनबास क्षेत्रका ४० भन्दा धेरै गाउँ कब्जा गरेको उहाँले स्वीकार गर्नुभएको बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्ताका लागि राखेको प्रस्तावलाई रुसले अस्वीकार गरेको पनि जानकारी दिनुभएको छ ।