१० बैशाख, काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा महानगर प्रमुख र उपप्रमुखको उम्मेदवारको छलफल लागि नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ बजेबाट बैठक भइरहेको काँग्रेस सहमहामन्त्री महेन्द्र यादवले बताए । सत्ता गठबन्धनभित्र चुनावी तालमेलका क्रममा काँग्रेसको भागमा तीन महानगरपालिका मेयर र उपमेयर परेको छ ।

काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट साझा उम्मेदवार खडा गर्ने छ । यस्तै भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिका उपप्रमुखमा काँग्रेसले गठबन्धनबाट साझा उम्मेदवारी दिने छ । जसमा काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहलाई बनाउने सहमति भइसकेको छ ।

काँग्रेसको महानगर समितिले निलकाजी शाक्य, हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको थियो । पाँच जना मध्ये सिर्जनाको नाममा सहमति भएको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिइन् । यस्तै विराटनगरको मेयरका लागि भीम पराजुली, डीला संग्रौला, अमृत अर्याल र नागेश कोइरालाको नाममाथि​ छलफल केन्द्रित छ । सभापति शेरबहादुर देउवा पक्षले संग्रौला र अर्यालको पक्षमा जोड गरिरहेको छ ।

नेता कृष्णप्रसाद सिटौलाले पराजुलीलाई दोहोर्याउनु उपयुक्त हुने तर्क राखेका छन् भने नेता शेखर कोइरालाले नागेश कोइरालाको पक्षमा अडान राखेका छन् । यस्तै ललितपुर महानगरपालिकामा वर्तमान मेयर चिरिबाबु महर्जन, पूर्व सांसद चन्द महर्जन र प्रेमकृष्ण महर्जनको नाममाथि छलफल केन्द्रित छ । विराटनगर र ललितपुरमा वर्तमान मेयरलाई दिने कि नयाँलाई अगाडि सार्ने भन्नेमा छलफल भइरहेको सहमहामन्त्री जीवन परियारले बताए ।

तीन वटा उपमहानगरपालिकाको उपमेयरका लागि पनि काँग्रेसमा हानथाप चलिरहेको छ । गठबन्धनको सहमति अनुसार माओवादी केन्द्रले मेयर पाएको भरतपुर महागरपालिकामा काँग्रेसले उपमेयरमा उम्मेदवारी दिने छ । काँग्रेसले भरतपुरको उपमेय दीर्घमान श्रेष्ठ र चित्रसेन अधिकारी मध्ये एक जनालाई उम्मेदवार बनाउने सम्भावना छ । यस्तै पोखरा महानरपालिकाको उपमेयरमा कोकिला राना भाटको सम्भावना बढी छ । पोखरामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाएपछि काँग्रेसले महिलालाई उपमेयरको उम्मेदवार बनाउने भएको छ ।

यस्तै विरगञ्ज महानगरपालिकाको उपमेयरमा काँग्रेसबाट आकांक्षीको नाम शुक्रबार साँझ मात्र पठाइएको सहमहामन्त्री महेन्द्र यादवले बताए । उक्त नाममाथि छलफल गरेर पार्टीले चुनाव जित्ने सक्नेलाई उम्मेदवार बनाउने उनको भनाइ छ । विरगञ्जमा गठबन्धनबाट जसपाले मेयर पाएपछि काँग्रेसले उपमेयरमा उम्मेदवारी दिने भएको हो ।​