१० बैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाण्डौबाट साउदी अरबको रियादमा नियमित व्यावसायिक उडान थालेको छ । रियादका लागि निगमको पहिलो जहाज हिजो बेलुका सवा सात बजे काठमाण्डौबाट उडेको थियो ।

नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरबको रियादमा निगमले अहिलेलाई हप्तामा दुई वटा उडान सञ्चालन गर्ने भएको छ । निकै लामो समयदेखि रियाद उडानको प्रयास गरे पनि निगमले बल्ल उडान थालेको हो । निगमको उडानसँगै साउदी अरब आउजाउ गर्ने नेपाली श्रमिकलाई सहज हुने भएको छ ।

निगमले भारतको दिल्ली, मुम्बई र बैङ्लोर, कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई, मलेशियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, चीनको हङकङ र जापानको नारितामा उडान सञ्चालन गर्दै आएकोमा नयाँ गन्तव्यको रुपमा साउदी अरबको रियादसहित अब आठ वटा देशकाका १० वटा गन्तव्यहरुमा उडान सञ्चालन गर्ने भएकोे छ । अन्तर्राष्ट्रिय उडानहरुमा अहिले निगमका ८० प्रतिशत भन्दा धेरै सिट बुकिङ हुने गरेका छन् ।