११ बैशाख, काठमाडौं । मुलुकमा संघीय संरचना कार्यान्वयनमा आएपछि कर्णाली प्रदेश लोकसेवा आयोग सुर्खेतले पहिलोपटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तर्गत खुला तथा समावेशी सहायकस्तर पाँचौँ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो ।

प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ३ बमोजिम गठित आयोगले खोलेको महिला विकास निरीक्षक पदको ५१५-५१६/०७८/०७९ को विज्ञापनअनुसार खुलामा आठ र महिलातर्फ एक गरी नौ कर्मचारी माग गरेको थियो ।

सो विज्ञापनअनुसार शनिबार सञ्चालित परीक्षामा दुई हजार १९७ परीक्षार्थी सम्मिलित भएको आयोगका सचिव भूपेन्द्र थापाले जानकारी दिए । ‘परीक्षा मर्यादित वातावरणमा सम्पन्न भएको छ’, उनले भने, ‘प्रदेश निजामती तथा स्थानीय सेवाअन्तर्गत भएको परीक्षा सञ्चालनका लागि ११ परीक्षा केन्द्र व्यवस्था गरिएको थियो । तीमध्ये ११ केन्द्राध्यक्ष, ८७ सहायक केन्द्राध्यक्ष र ११९ निरीक्षकको परिचालन गरिएको हाे ।’

आयोग अध्यक्ष रामप्रसाद उपाध्यायले संघीयताकाे इतिहासमा पहिलोपटक परीक्षा सञ्चालन गर्ने अवसरले आयोग परिवारलाई गौरवान्वित तुल्याएको बताए । आफ्नै सरकारअन्तर्गत गठित प्रदेश लोकसेवा आयोगले सञ्चालन गरेको परीक्षाले परीक्षार्थीहरूलाई संघीयताकाे अनुभूति गराएको उनको भनाइ थियो ।

आयोगले सञ्चालन गरेको महिला विकास निरीक्षकको परीक्षामा सहभागी हुन पाउँदा निकै खुशी लागेको परीक्षार्थी शिवा शाहीले बताइन् ।