११ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो ।बैठक पार्टी कार्यालय सानेपामा बिहान ११ बजे बस्नेछ । त्यसअघि सानेपामै कांग्रेस शीर्ष नेताबीच अनौपचारिक छलफल हुनेछ ।
उम्मेदवार टुङ्गो लगाउन कांग्रेसका शीर्ष नेताबीच हिजो र अस्ति पनि निरन्तर छलफल भएको थियो । तर सहमति जुट्न नसकेपछि आज फेरि बैठक बस्न लागेको हो । कांग्रेसले काठमाण्डौको मेयरमा सिर्जना सिंहको नाममा सहमति जुटाएको भए पनि ललितपुर र विराटनगरको मेयरमा अहिलेसम्म निर्णय गर्न सकेको छैन ।
यसैबीच सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक पनि आज बस्दैछ । पालिका चुनावका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
सहमति नजुटेका ठाउँमा तालमेलको अन्तिम पहल गर्ने प्रयासमा शीर्ष नेता रहेका छन् । गठबन्धनका शीर्ष नेताहरुले यसअघि महानगर र उपमहानगरपालिकाको भागबन्डा टुङ्ग्याएका थिए । तर नगर र गाउँपालिकामा तालमेलको जिम्मा जिल्ला र प्रदेश संयन्त्रलाई दिइएको छ।