११ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पालिका चुनावको घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ ।

आज घोषणा पत्र सार्वजनिक गरेर चुनावका लागि उम्मदवारी मनोनयन दर्ता थाल्ने जसपाले जनाएको हो । पार्टीको घोषणापत्रमा हरेक पालिकामा चक्रपथ निर्माण गर्ने, पानीको महसुल दुई सय रुपैयाँसम्म मिनाहा गर्ने लगायतका बुँदा समावेश छन्।

घोषणापत्रमा सम्मुन्नत सङ्घीय समाजवादको सिद्धान्तबाट प्रशिक्षित तथा निर्देशित, सुशासन, सहभागिता र समावेशी विकासको मार्गबाट समृद्ध नेपाल निर्माण गर्ने पार्टीको मुख्य लक्ष्य र कार्यभार भएको कुरामा जोड दिने जनाइएको छ ।

जसपाले अर्थतन्त्रको सञ्चालन र विकासमा निजी क्षेत्र, राज्य क्षेत्र, सहकारी क्षेत्र र सामुदायिक क्षेत्रको भूमिकाको गतिशील सन्तुलन कायम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।