११ बैशाख, काठमाडौं । नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको सत्तारुढ नेपाली कांग्रेसले आज आइतवार आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । कांग्रेसले घोषणापत्र नभनी ‘सङ्कल्प’को नाम दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । कांग्रेसले महामन्त्री गगनकुमार थापाको संयोजकत्वका एक कार्यदल नै बनाएर घोषणापत्र तयारीको काम गरेको थियो ।
पार्टीको नीति र सिद्धान्त, सुशासनका मापदण्ड तथा जनप्रतिनिधिको उत्तरदायित्वलाई पूर्णरूपमा आत्मसात् गर्दै आफ्ना पार्टीका तर्फबाट स्थानीय सरकारको नेतृत्व गर्ने प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यले गर्ने केही महत्त्वपूर्ण कामका बारेमा समेत ‘कांग्रेसको सङ्कल्प’ मा समेटिएको छ ।
जनताको करबाट उठेको राजस्वलाई भ्यु टावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने, सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन गर्न नदिने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
घाेषणापत्रमा कांग्रेसले २०७४ सालदेखिको सरकारको काम, कारबाहीको समीक्षासमेत गरेको छ ।
सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेसललगायतका दलले एकापसमा मिलेर चुनावमा जाने सहमति गरिसकेको छ ।