१३ बैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा विज्ञानको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा छलफल चलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोग, त्रिवि, शिक्षण अस्पताल, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयलगायत पदाधिकारीसँगको छलफलमा मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा आज छलफल गर्नुभएको हो ।

मेडिकल शिक्षा आर्जनका लागि बर्सेनि रु ९८ अर्ब रकम देश बाहिर गइरहेको बताउँदै नेपालमै व्यवस्थित र स्तरीय बनाउनुपर्नेमा मन्त्री पौडेलले जोड दिनुभयो । “देशमा मेडिकल शिक्षा पढ्ने विद्यार्थीको आकर्षण बढ्ढो छ”, मन्त्री पौडेलले भन्नुभयो, “देश बाहिर पढ्न गएका नेपालमा आएर परीक्षा दिई चिकित्सक बनिरहेका छन् । उनीहरूलाई नेपालमै पढ्ने र परीक्षा दिने व्यवस्था गरौँ ।”

देशमा पढ्ने व्यवस्था मिलाएर शिक्षा प्राप्तिका लागि बाहिरिने रकम नेपालमै रहनेमा उहाँको जोड रहेको छ । मन्त्री पौडेलले कागजमा दक्ष जनशक्ति पर्याप्त देखिए पनि फिल्डमा नभएको गुनासो गर्नुभयो । “अवसरमा प्रतिस्पर्धा गर्ने दायर बढाइ क्वालिटीको शिक्षामा ध्यान दियौँ भने मात्रै उत्पादित जनशक्ति बेरोजगार बस्नुपर्दैन”, मन्त्री पौडेलले भन्नुभयो । “शिक्षालाई नियमन गरौँभन्दा हामी खुम्चिएका छौँ”, मन्त्री पौडेलले भन्नुभयो, “केही ऐन र कानुनको जटिलताले गर्दा सीमितबाहेकले देशमा पढ्न पाउने अवसर गुमाइरहेका छन् ।” छलफलमा मेडिकल क्षेत्रमा बजेट कम हुँदा धेरै समस्या आएको बताउँदै बजेट बढाउन मन्त्रीलाई आग्रह गरेका थिए ।