१५ बैशाख, काठमाडौं । पछिल्लो समय तीब्र शहरीकरण तथा वित्तीय गतिविधि वृद्धि भइरहेको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ । यो सँगै बैँकको शाखा १४८ तथा एटिएम सेवा १८७ पुगेको छ । विसं २०४१ असार १२ गते स्थापना भएको सो बैँकले यस वर्ष १५४ शाखा पु¥याउने लक्ष्य राखेको छ ।

चन्द्रागिरी नगरपालिकाका कार्यकारी अधिकृत निरज पौडेल र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले संयुक्त रुपमा आज यहाँ आयोजित कार्यक्रममा शाखा शुभारम्भ गर्नुभयो ।

समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले स्थानीय समुदायका घर दैलोमा नै बैँकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन शाखा विस्तार गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “विभिन्न बैंक मर्ज गरेर बैंकको सेवालाई अझै विस्तार गर्ने अभियान जारी छ । ‘क्यासलेस’ अवधारणाअनुसार घरमै बसेर नागरिकले सेवा पाउने वातावरण निर्माणमा बैंक लागेको छ । सेवाग्राहीको पहिलो रोजाइको बैँक बनाउने अभियानमा लागेका छौँ । ”

गत वर्ष युनाइटेड फाइनन्सलाई समाहित गरेको बैंकले एनबी बैंक मर्ज गरी थप सेवा दिने तयारी गरेको जनाइएको छ । चन्द्रागिरिका प्रमुख प्रशासकीय अधिकृत पौडेलले ३६ हजार घरधुरी र एक लाख ३५ हजार जनसङ्ख्या रहेको नगरमा वित्तीय क्षेत्रको माग बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो“ बैँकले गुणस्तरीय वित्तीय सेवा प्रवाह गरेमा सेवाग्राहीको मन जित्न सक्छ । यसका लागि व्यवस्थापन पक्षले ध्यान दिनुपर्छ । ”

बैंकका नायब महाप्रबन्धक कृष्णदत्त भट्टराईले मुलुकमा आधुनिक बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता महसुस गरेर स्थापना भएको नबिल बैंक जनताको विश्वासिलो बैंकका रूपमा रहेको दाबि गर्नुभयो । उहाँले भन्नुभयो“ बैंकले विदेशमा भएको तर नेपालमा सेवा नभित्रिसकेको अवस्थामा क्रेडिट कार्डका व्यवस्थालगायत आधुनिक वित्तीय सेवा भित्र्याउन सफल भएको छ । ”

कार्यक्रममा बैँकका दहचोक शाखा प्रमुख आश्विन श्रेष्ठले बैँकले सरल र सहज रुपमा सम्पूर्ण बैँकिङ सेवा उपलब्ध गराउने जानकारी दिनुभयो । यसैगरी कलङ्की शाखा प्रमुख राजदीप उप्रेतीले सबै वित्तीय सुविधा प्रदान गर्ने गरी बैँकको दहचोक शाखा विस्तार गरिएको बताउनुभयो । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम गिरीको उपस्थिति रहेको थियो ।