१५ बैशाख, काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षमा ५ दशमलव आठ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।
विभागले आज पत्रकार सम्मेलन गरेर चालुु आर्थिक वर्षको पहिलो नौ महिनाकाे तथ्याङ्क विश्लेषणका आधारमा पाँच दशमलव आठ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको हो ।
अर्थ मन्त्रालयले यो वर्ष सात प्रतिशत वृद्धिदरको लक्ष्य राखेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले चार दशमलव एक प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विभागका अनुसार चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २ दशमलव ३ प्रतिशत, उद्योगको वृद्धिदर १० दशमलव ३ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ५ दशमलव ९ प्रतिशत हुनेछ ।
यसैबीच, यो आर्थिक वर्षभित्र नेपालको कुल गार्हस्थ उत्पादन जीडीपी साढे ४८ खर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ । बजार मूल्यका आधारमा अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुग्ने विभागले जनाएको छ । यस्तै, चालु आर्थिक वर्षका लागि प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ हजार ३ सय ७२ अमेरिकी डलर र प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ३ सय ८१ अमेरिकी डलर पुग्ने विभागको प्रक्षेपण छ ।
यस्तै, चालु आर्थिक वर्षमा आयात २० खर्ब र निर्यात ३ खर्ब २० अर्ब रुपैयाँ पुग्ने पनि विभागले अनुमान गरेको छ ।