१८ बैशाख, काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा स्पानियोललाई ४–० गोलले हराउँदै रियलले उपाधि जितेको हो ।

घरेलु मैदानमा रियलका रोड्रिगोले दुई तथा मार्कुस एसेन्सियो र करिम बेन्जिमाले एक/एक गोल गरे । जितसँगै रियलले ३४ खेलमा ८१ अङ्क जोडेको छ । रियल दोस्रो स्थानको सेभियाभन्दा १७ अङ्कले अघि रहेको छ । ला लिगामा रियल ४ खेल बाँकी रहँदै उपाधि जित्न सफल भयो ।

रियलको यो ३५औँ ला लिगा उपाधि पनि हो । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी युरोपको शीर्ष पाँच लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक समेत बनेका छन् ।

ला लिगाको उपाधिसँगै एन्सेलोटीले प्रिमियर लिग, इटालियन सिरी ‘ए’, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वान जिताएका थिए ।