२२ वैशाख, काठमाण्डौ । स्थानीय तहको निर्वाचन आउन थोरै दिन बाँकी रहँदा चुनावीसभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्षनेताहरूको दौडधुप बढ्न थालेको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधामन्त्री शेरबहादुर देउवाले यही वैशाख २६ गते धनगढीमा र वैशाख २७ गते गृहजिल्ला डडेलधुरामा हुने चुनावीसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम सार्वजनिक गरिएको छ ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलाली र कञ्चनपुरमा हुने चुनावीसभालाई सम्बोधन गर्न लाग्नुभएको सो पार्टीका नेता एवं प्रतिनिधिसभाका सदस्य नारदमुनी रानाले जानकारी दिनुभयो । कैलालीको धनगढी, बर्दगोरिया र कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा एमालेद्वारा आयोजना गरिने चुनावीसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आराजु राणा देउवा कैलालीकोे लम्कीचुहा, टीकापुर र गोदावरी नगरपालिकालगायतका क्षेत्रमा सत्ता साझेदार दलद्वारा आयोजित छुट्टाछुट्टै चुनावीसभामा सहभागी भई बुधबार डडेल्धुरा पुग्नुभएको छ । कैलालीका १३ पालिकाका प्रमुख–उप्रमुखमा सत्ता साझेदार कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले चुनावी तालमेल गरेका छन् ।

वडा तहका प्रत्यासीको हकमा भने यी दलबीच तालमेल हुनसकेको छैन । एमालेलगायतका दलले भने एकलरूपमा उम्मेदवारी दिएका छन् । पालिका तहको प्रमुख उपप्रमुखमा गरिएको तालमेलप्रति असहमति राख्दै कतिपय तहमा कांग्रेस, माओवादीका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।