२२ वैशाख, काठमाण्डौ । विराटनगर महानगरपालिका प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले पालिकालाई भ्रष्टाचार शुन्य गराउने बताउनु भएको छ । उहाँले विराटनगर–१३ मा आज गठबन्धन दलका महानगरपालिकाका प्रमुख, उपप्रमुखका उम्मेदवारसँग आयोजित पत्रकार सम्मेलनमा महानगरलाई भ्रष्टाचार शुन्य गराउँदै विकासमा जोड दिइने उल्लेख गर्नुभयो ।
कोइरालाले महानगरमा गुणस्तरीय सामुदायिक विद्यालय, हरभरा, सफा सहर, जनताको पालिकामा सहज पहुँच तथा कर्मचारी भर्ती केन्द्र नबनाइने विषयलाई प्राथमिकताकासाथ लागू गर्ने जानकारी दिनुभयो । यसैगरी जसपाबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादवले समावेशी, बाढीमुक्त सहर, स्वच्छ खानेपानी, सहज स्वास्थ्य उपचार र सुकुम्वासी समस्यामुक्त, दोश्रो ठूलो सहर निर्माणमा ध्यान केन्द्रीत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले प्रदेशको स्थायी राजधानी रहेको यो सहरमा बिराट राजा दरवारको संरक्षणलगायत अन्य आकर्षण केन्द्रको निर्माण गरी पर्यटक मैत्री बनाउने विश्वास दिलाउनुभयो । वडा नं १३ का जसपाका अध्यक्षका उम्मेदवार बालदेव यादवले सबैको सहयोगमा जनताको आवश्यक्तालाई ध्यानमा राखी कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।