२५ वैशाख, काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार आज आइतवार झन्डै १८ अङ्कले बढेको छ । कारोबार सुरु भएदेखि घट्न सुरु गरेको नेप्से साढे १२ बजे ३५ अङ्कले घटेको थियो । तर बन्द हुने बेलामा १७ दशमलव ९५ अङ्कले बढेर दुई हजार दुई सय ५६ दशमलव ५७ विन्दुमा पुगेको छ । 

आज बैंक र माइक्रोफाइनान्सबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । दुई सय ३३ वटा कम्पनीका ३३ लाख ४१ हजार कित्ता शेयर एक अर्ब ३२ करोड ६४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको सात करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज जालपा लघुवित्तको शेयर १० प्रतिशतले तथा घलेम्दी हाइड्रो र माउन्टेन इनर्जी नेपालको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ ।