बैशाख २८ काठमाडौ । कुवेतपछि जजिरा एयरवेजले खाडीको अर्को देश कतारबाट पनि गौमतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा उडान भर्ने भएको छ ।

जेठ २ गते नै विमानस्थलको औपचारिक उद्घाटनका दिनदेखि नै कुवेतबाट उडान भर्ने तालिका सार्वजनिक गरिसकेको जजिरा एअरले कतारको दोहाबाट पनि आउँदो १२ जुन अर्थात् जेठ २९ गतेदेखि उडान भर्ने भएको हो ।

एयरलाइन्सले दोहाबाट गौतमबुद्ध विमानस्थल हप्ताको तीन वटा उडान भर्नेछ । कतारबाट टिकट लिनका लागि थप जानकारी चाहिएमा कतारस्थित सम्पर्क कार्यालयमा ४४२७१०१० तथा ३०७०१०४२ मा सम्पर्क गर्न सकिन्छ । जेठ २ गतेदेखि नै जजिरा एयरलाइन्सले कुवेत भैरहवा नियमित उडान सुरु गर्दै छ ।

कुवेतस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै सिधा हवाई सेवा सञ्चालन भएपछि मध्यपूर्वमा बसोबास गर्ने नेपाली समुदायलाई नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष हवाई सेवामार्फत जोड्न सकिने जनाएको छ ।

वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि खाडीको देश प्रवेश गर्ने नेपालीका लागि सहज तथा सुविधाजनक हवाई यात्रा हुने दूतावासको विश्वास छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आउन लागेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको जहाज जेठ २ गते बिहान आइपुग्ने छ ।

कुवेतबाट स्थानीय समयअनुसार साँझ १८ बजेर ३० बजे उडेको विमान जेठ २ गते बिहान १ बजेर ४५ मिनेट जाँदा भैरहवा आइपुग्ने छ । जहाज त्यसै दिन दिन बिहान २ बजेर ३० मिनेटमा कुवेतका लागि उड्ने छ । जजिराले हप्तामा आइतबार, मङ्गलबार र बिहीबार कुवेतबाट नेपालका लागि उडान जनाएको छ ।