बैशाख ३०, काठमाडौँ । अहिलेसम्म २५ प्रतिशत मतदान भैसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ११ बजेसम्ममा झण्डै २५ प्रतिशत मतदान भएको उज्यालोलाई  जानकारी दिनुभयो ।

उहाँकाअनुसार केही ठाउँमा तनाव र झडप भए पनि धेरै ठाउँमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भैरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।

सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको घुईंचो लागेको छ । मतदानमा वृद्धवृद्धा, अशक्त, गर्भवती, सुत्केरी लगायतको पनि उत्साहजनक सहभागिता छ । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाको लागि मतदान भएको हो ।

मेयरमा ७५३, उपमेयरमा ७५३, वडाध्यक्षमा ६ हजार ७४३, महिला र दलित महिला सदस्यमा ६ हजार ७४३ तथा खुला सदस्यमा १३ हजार ४८६ गरी ३५ हजार २२१ पदको लागि कुल एक लाख ४५ हजार ११ जना उम्मेदवार छन् ।