जेठ २,काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै हुनुहुन्छ । उहाँ बिहान साढे १० बजे वायु सेनाको हेलिकप्टरमार्फत लुम्बिनी आउने तयारी छ ।  उहाँले मायादेवी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ ।

भारतको संस्कृति मन्त्रालयले यहाँ निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) को नेपाल र भारतका प्रधानमन्त्रीले शिलान्यास गर्नेछन् । दिउँसाे दुवै देशका प्रधानमन्त्रीले २५६६ औँ बुद्ध जयन्ती समारोह सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सुरक्षा स्रोतका अनुसार नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानमन्त्री मोदीको भ्रमण र सुरक्षा व्यवस्थापनका लागि भारतबाट ‘स्पेसल प्रोटेक्सन गार्ड’ (एसपीजी) एक हप्ता अघि नै आएका थिए ।

सुरक्षालाई ध्यान दिएर बुद्ध जयन्ती समारोहमा पाहुनाको प्रवेशलाई कडाइ गरिएको छ । सुरुमा तीन हजारलाई सहभागी गराउने भनिएकामा अहिले सङ्ख्या घटाइएको लुम्बिनी विकास कोषले जनाएको छ । समारोह भने पाँच हजार जना अट्ने अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्रमा हुनेछ । सभाहललाई चिटिक्क बनाइएको छ ।

प्रधानमन्त्री मोदी आउने हेलिकप्टर सोमवार बिहान सभाहलको अगाडि निर्माण गरिएको हेलिप्याडमा उत्रिनेछ । यसअघि नेपाली प्राविधिकले हेलिप्याड निर्माण गरेका थिए । अवलोकनका लागि आएका भारतीय प्राविधिकले चित्त नबुझाएपछि पटक–पटक हेलिप्याड मर्मत गरिएको थियो ।

मायादेवी मन्दिरमा पूजा र भारतीय बिहार शिलान्यासपछि प्रधानमन्त्री मोदीले लुम्बिनी नजिकै रहेको पाँचतारे होटल पवन प्यालेसमा गएर विश्राम गर्ने कार्यक्रम छ । त्यहाँ प्रधानमन्त्री देउवाले समकक्षी भारतीय प्रधानमन्त्रीलाई दिवा भोज आयोजना गर्ने र त्यही होटलमै दुवै प्रधानमन्त्रीबीच भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षरको कार्यक्रम छ ।