जेठ ३,काठमाडौं । संघीय संसदको बजेट अधिवेशन आज (मंगलबार)देखि सुरु हुने भएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसाे ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हाे । प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक मंगलबारदेखि सुरु हुनेभएका छन् । यहि जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९-८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची रहेको छ । त्यस्तै कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र यौ नहिंसा विरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची पनि रहेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठकहरु अवरुद्ध गर्दै आएको छ । एमालेले आफूले निष्कासन गरेका माधव नेपाल पक्षका १४ जना सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ । बजेट अधिवेशन भएकाले यस पटक एमालेले के कस्तो रणनीति लिन्छ भन्ने खुलेको छैन ।