ललितपुर । नेपाल सरकारले योगी, दूरदर्शी एवम् ईशा फाउण्डेशनका संस्थापक सद्गुरुले पाँच महिना अघि सुरु गर्नुभएको माटो जोगाऔं अभियानमा ऐकवद्धता जनाएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजित एक कार्यक्रममा सो ऐकवद्धता जनाइएको हो । सरकारका तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय एवम् वन तथा वातावरण मन्त्रालयले एकवद्धता जनाएका हुन् ।

नेपाल सरकारका तर्फबाट वन तथा वातावरण मन्त्री प्रदीप यादवले नेपालका खोला नाला वरपर ३० हजार रुख रोप्ने घोषणा गर्नुभयो । मन्त्री यादवले सद्गुरुले एक सय दिन लगाएर तीस हजार किलोमिटर लामो एकल मोटरसाइकल यात्रा गर्नुभएकोले तीसै हजार रुख रोपिने बताउनुभयो ।
कार्यक्रममा सद्गुरुले वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई माटो बचाउ नीति पुस्तिका हस्तान्तरण गर्नुभयो । पुस्तिकाले व्यावहारिक एवम् वैज्ञानिक समाधान प्रदान गर्नुको साथै सरकारले माटोको प्रकार, अक्षांश स्थानहरू र दिइएको राष्ट्रको कृषि परम्परा अनुसार लिनसक्ने कदमको बारेमा जानकारी प्रदान गर्दछ ।

कार्यक्रममा सम्बोधन गर्दै सद्गुरुले हामी जानेर वा नजानी यस विनाशको एक हिस्सा भएको र अबको बाटो भनेको सबैले समाधानको एक हिस्सा बन्नु पर्नेमा जोड दिनुभयो । माटोको विनासलाई सम्बोधन गर्न एकजुट हुन पनि सद्गुरुले सबैलाई आह्वान गर्नुभयो ।









