सिरहा । सिरहा धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतोले क्षेत्राधिकार मिचेर पदीय मर्याताविपरीत वडाले दिने सिफारिसमा आफैंले हस्ताक्षर गरेको पाइएको छ । 

नगर प्रमुख महतोले क्षेत्राधिकारको ख्याल नै नगरी वडा अध्यक्षले गरिने जग्गाको घरबाटो सिफारिसमा आफैले हस्ताक्षर गरेको पाइएको हो । प्रमुख महतोले धनगढीमाई–  ३ का सुनैर देवी तेलिनको नाउँमा दर्ता कायम रहेको साविक  भवानीपुर प्रध गाविस ८ ‘क’ कित्ता नम्वर  ८० र ४४६ को ९ कठ्ठा ७ धुर जमिनको घरबाटो सिफारिस गरेको सार्वजनिक भएको छ । 

जग्गा धनीले बाटो नै नभएको जग्गाको कृषि सडक रहेको भनि सिफारिस माग गरेपछि वडा अध्यक्षले आलटाल गरको भन्दै जग्गा धनीले पैसा र शक्तिको भरमा नगर प्रमुखबाटै सिफारिस लिन सफल भएको वडा अध्यक्षहरु बताउँछन्। 

वडा अध्यक्षहरुले नगर प्रमुखले क्षेत्राधिकारको ख्यालै नगरी वडा आफूहरुको अधिकारसमेत हनन् हुनेगरी सिफारिस दिएको आरोप लगाएका छन् । यस विषयमा वडा अध्यक्षहरुले गत पुस २९ गते भएको हिउँदे नगरसभामा समेत कुरा उठाएका थिए । त्यसबेला नगरप्रमुखले गल्ती भएको भन्दै माफी मागेको एक वडा अध्यक्षले बताए ।

वडा नम्बर ३ का वडा अध्यक्ष वीरेन्द्र साहले विवादित बाटो भएकोले साँधमा रहेका अर्को पक्षलाई पनि बोलाउन अनुरोध गरेपछि जग्गा धनीले ‘पावर’ र पैसाको बलमा मेयरबाटै सिफारिस लिएको बताए । उनले भने, ‘जग्गा धनीकै परीवारका एक सदस्य अघिल्लो वडा अध्यक्ष हुनुहुन्थ्यो ।  वहाँले त्यसबेला पनि बल प्रयोग गरेर अरुको जमिनमा बाटो बनाउनु भएको थियो । अहिले पनि त्यो विवाद कायमै रहेकोले मैले दुवैजना आउनुस् भनेको मात्र थिएँ । तर, उहाँ पावर देखाउन मेयरकोमा पुगेर सिफारिस लिएछन् ।’

यता नगरप्रमुख शिवशंकर महतोले आफू कार्यालयबाट बाहिर निस्कने क्रममा गाडीमै कर्मचारीले ल्याएर हस्ताक्षर गराएकोले कागज हेर्न नपाउँदा यस्तो हुनु पुगेको बताए । आफूले हस्ताक्षर गरेको स्वीकार्दै राम्रोसँग कागज हेर्न नपाउँदा त्यस्तो पर्न गएको उनको भनाइ छ । 

गत माघ १४ गते धनगढीमाई नगरपािलकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासद्वारा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनसम्बन्धी स्थानीय तहस्तरीय अन्तरक्रिया’ मा पनि यस विषयमा वडाअध्यक्षहरुले कुरा उठाएका थिए ।  आयोगका बर्दिवास प्रमुख गोपाल अधिकारीसमेतको उपस्थिति रहेको कार्यक्रममा वडाअध्यक्षहरुले यस विषयमा कुरा उठाए पनि बिनासुनुवाइ कार्यक्रम समापन गरिएको सहभागीहरु बताउँछन् । 

उनीहरुले भने, ‘बाटो नभएको जग्गामा कृषि सडक भएको सिफारिस दिनु र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख समेत रहेको कार्यक्रममा राजस्व छली समेत देखिए पनि यस्ता गम्भीर विषयउपर कसैले कुनै किसिमको चासो नलिनुले स्थानीयस्तरमा विभिन्न किसिमका शंका उपशंकाहरु उब्जिन थालेका छन् ।’ उनीहरुले आर्थिक चलखेलको आशंका पनि गरेका छन् ।