राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।
संसदमा प्रतिनिधिहरु गर्ने राजनीतिक दलहरु र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखहरुले भ्रष्टाचारीलाई कारबाही गर्नेगरी सहमती गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो । भ्रष्टाचारबिरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले २०४६ सालयताका भ्रष्टहरुलाई छानबिन गरी कारबाही गर्न दलहरु तयार हुनुपर्ने बताउनु भयो । अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरुले मुलुकमा सुशासन ल्याउन राष्ट्रिय सहमति नै गरेर अघि बढनुपर्ने बताउनु भयो । भ्रष्टहरुलाई जेलमा पठाउनका लागि पनि राजनीतिक नेतृत्व प्रतिवद्ध हुन सकेको खण्डमा मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने उहाँले भनाई थियो ।