काठमाडौं । नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।
केन्द्रिय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो । पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत पुगेको तथ्यांक विभागले जनाएको छ । २०६८ को जनगणनाअनुसार कुल साक्षरता दर ६५.९ प्रतिशत थियो ।
जसमा पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो । तथ्यांक उपप्रमुख डा. हेमराज रेग्मीले जनगणना २०७८ अनुसार नेपालमा पुरुषको भन्दा महिलाको साक्षरता दर १४.२ प्रतिशत रहेको बताउनु भयो ।
रेग्मीले जनगणनामा सधैँको लागि देश छोडेर गएका व्यक्तिहरुको गणना नगरिएको बताउनु भयो । त्यस्तै परिवारका सबै सदस्य विदेशमा रहेकाहरुको पनि गणना गरिएको छैन ।
रेग्मीले उमेर समूहअनुसार १५ देखि १९ वर्षको उमेर समूहमा कुल जनसंख्याको सबैभन्दा बढी प्रतिशत रहेको बताउनु भयो । २०६८ को जनगणनामा भने १० देखि १४ वर्षको बीचको उमेरसमूहका थिए ।